धादिङ २९ जेष्ठ
जिल्ला समन्वय समिति धादिङका नव निर्वाचित जनप्रतिनीधिहरुले सपथ ग्रहण गरेका छन् ।
जेठ २७ गते जिल्ला समन्वय समिति धादिङको प्रमुख, उप—प्रमुख र सदस्यहरुको मनोनयन दर्ता गर्ने समय तालिका सार्वजनिक गरेको थियो । तोकिएको समयमा प्रतिस्पर्धी अन्य उम्मेदवारहरुको उम्मेदवारी नदिएपछि गठबन्धनबाट साझा उम्मेदवारी दिएका माओवादी केन्द्रका नवराज अधिकारी प्रमुखमा, एकीकृत समाजवादीबाट कुलमान विश्वकर्मा उपप्रमुखमा र कांग्रेसबाट ७ जना सदस्यहरु सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी निर्विरोध चयन भएका हुन् ।
२ वटा नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि सत्तागठबन्धन दल बाहेक प्रतिपक्ष दलको एकल बहुमत थिएन ।
धादिङ जिल्लामा नेपाली काँग्रेसको ७ वटा पालिका प्रमुख र ५ वटा उप–प्रमुख गरी १२ सीट, माओवादी केन्द्रको ३ प्रमुख र ५ उप–प्रमुख गरी ८ सीट, एकीकृत समाजवादीको १ प्रमुख र ३ उप–प्रमुख गरी ४ सीट छ भने नेकपा एमालेको २ प्रमुखको २ सीट मात्रै रहेको छ ।
९ सदस्यीय जिल्ला समन्वय समितिमा १ प्रमुख, १ उप–प्रमुख, ३ महिला सदस्य, १ दलित र अल्पसंख्यक समुदायबाट र ३ जना अन्य सदस्य निर्वाचित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस