धादिङ ३१ आषाढ
गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसर पारी आमाको माया छात्राबासमा मङ्गलबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । जनजाती कल्याण आश्रम नेपालद्धारा सञ्चालित छात्राबासमा धादिङ लगायत देशका विभिन्न जिल्ला करिब ३० जना असहाय, टुहुरा छात्रहरु बस्दै आएका छन् । छात्रबासका अध्यक्ष डा. नवीनवन्धु पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा. राजाराम कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पर्यावरण अभियन्ता भुमिरमण नेपाल, गङ्गादत्त तिमल्सेना, राजेन्द्र राना मगर, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, व्यवसायी सुवास बस्याल, धादिङ सोसियल भोलेन्टिएर ग्रुपका सदस्यहरु, साहित्यकार, स्थानीय बुद्धिजीविहरुको उपस्थिति रहको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गङ्गादत्त तिमल्सेनाले व्यास ऋषि भगवानको १७ औँ अवतारको रुपमा रहेको र उनले वेदलाई ४ भागमा विभाजन गरी सबैले बुझ्ने सरल र सहज बनाइदिएको र नैतिक शिक्षाको रुपमा विकास भएको बताउँनु भयो ।
प्रमुख अतिथि डा. राजाराम कार्कीले १० हजार २ सय वर्ष अगाडि लेखिएको वेदको महत्त्व अत्यन्तै रहेको बताउँदै वेदका अनुसार मानव जीवनको ब्रह्मचारी अवस्था, गृहस्थ अवस्था, वानप्रस्थ अवस्था, सन्यास अवस्था गरी ४ अवस्था हुने बताउँदै संस्कृत भाषा हाम्रो जननी भएकाले भुल्न नहुने यसलाई विकास गर्दै लानुपर्ने बताउनु भयो । डा. कार्कीले छात्रबासमा १ महिनाको सम्पूर्ण खर्च आफूले व्यक्तिगत रुपमै व्यहोर्ने प्रतिबद्धता जनाउँदै सांसद विकास कोषबाट आवश्यक सहयोग गर्ने वचन बद्धता जनाउनु भयो ।
कार्यक्रममा १ सय ५० भन्दा बढी विभिन्न फलफूल तथा बोट विरुवा छात्रबास वरिपरि रोपिएको छ । कार्यक्रमकै अवसर पारी धादिङ सोसियल भोलेन्टिएर ग्रुपले वाटर डिस्पेन्सर समेत सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस