धादिङ २७
नेकपा(माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी सदस्य एवं वाइसिएल नेता नीलकण्ठ–५, खाल्टेका हरि कुमार श्रेष्ठमाथि आक्रमण गर्ने कांग्रेस कार्यकर्ता दिनेश थापामगरलाई कारबाही गर्न नेकपा(माओवादी केन्द्र) धादिङ र योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगर कमिटीले माग गरेको छ ।
शुक्रबार दिउसो २ बजेतिर धादिङबेसी विचबजारस्थित आफ्नै कार्यालयमा काम गरिरहेको समयमा श्रेष्ठलाई कांग्रेस कार्यकर्ता एवं नीलकण्ठ नगरप्रमुख भिम प्रसाद ढुङ्गानाका अंगरक्षक थापाले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताउनु भयो । घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
नेकपा(माओवादी केन्द्र) धादिङका संयोजक भण्डारीद्धारा जारी विज्ञप्तीमा “नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगर कमिटी सदस्य एवं योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगरपालिका वडा नं. ५ को अध्यक्ष हरि कुमार श्रेष्ठलाई जेष्ठ २७ गते दिउसो २ बजेको समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ११ स्थायी घर भइ नीलकण्ठ ३, धादिङबेसी बस्ने नीलकण्ठ नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको सुरक्षा गार्ड समेत रहेका दिनेश थापा मगरले एक्कासी धारिलो हतियार प्रयोग गरेर आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति, धादिङ खेद प्रकट गर्दछ । साथै उक्त घटनामा संलग्न नीज दिनेश थापा मगरलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग जोडदार माग गर्दछौँ । धादिङ अस्पतालमा उपचार गराइ थप उपचारको लागि काठमाडौँ रेफर गरिएका गम्भीर घाइते हरि कुमार श्रेष्ठको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।” भनिएको छ ।
यस्तै योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगर समितिका अध्यक्ष रेगन श्रेष्ठ र इन्चार्ज सन्तोषजंग भण्डारीद्धारा जारी विज्ञप्तिमा पनि दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस