धादिङ १५ जेष्ठ
धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम धादिङ सहकारी सम्मेलन सकिएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा आइतबार भएको सहकारी सम्मेलनमा जिल्लाभरका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने नेफस्कुनका केन्द्रीय अध्यक्ष परितोष पौडेल, धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, नेपाल कृषि सहकारी केन्दीय संघका अध्यक्ष खेम पाठक लगायतको आतिथ्य रहेको थियो ।
सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यस्तै यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मेलनले १२ बुँदे साझा घोषणापत्र समेत जारी गरेको छ ।
सम्मेलनका वक्ताहरुले सहकारीले देशको आर्थिक विकासमा योगदान पुर्याउने भएकोले यसको कामलाई प्राथमिकतामा राख्न स्थानीय सरकारहरुसंग माग गरेका थिए ।
सहकारी सम्मेलनमा सहकारी संस्था संचालनका अन्तर्राष्ट्रिय अभ्यास, नेपालले अवलम्वन गरेका सम्भावनाका बारेमा नेप्सकुनका अध्यष परितोष पौडेल, दिगो विकास लक्ष प्राप्तीमा सहकारीको योगदान, भूमिका र जिम्मेवारीका विषयमा नेपाल कृषि सहकारीका केन्द्रीय अध्यक्ष खेम पाठक, सहकारी संचालनका नितिगत सवालका विषयमा बागमति प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री बलराम निरौलाले कार्यपपत्र प्रस्तुत गर्दै सहकारीका बारेमा सहभागिहरुलाई जानकारी गराइउको थियो । जिल्ला भरका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
धादिङ जिल्लामा ४ सय ३० सहकारी रहेको र यसमा १ लाख १२ हजार ९ सय ५५ जना सहकारीमा आवद्ध रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस