धादिङ १० जेष्ठ
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात बसेको धादिङको नीलकण्ठ नगरकार्यपालिकाको पहिलो बैठकले पालिकाको १४ वटै वडा कार्यालयसम्म कालोपत्रे गर्ने निर्णय गरेको छ ।
दोस्रो कार्यकालको लागि निर्वाचित मेयर, उप–मेयर तथा निर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रम तथा पहिलो बैठकले ५ वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्रे गर्ने सहित ४ महत्त्वपूर्ण निर्णय गरेको छ ।
त्यस्तै, नगरपालिकामा एक बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने र उक्त कामको लागि नगर उपप्रमुखको नेतृत्वमा आवश्यक काम कारबाही अघि बढाउने निर्णय पनि भएको छ ।
नगरपालिलाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि आवश्यक पर्ने सुचकहरुको अध्ययन गरी बालमैत्री नीलकण्ठ नगरपालिका घोषणा गर्ने र कृषकहरुको लागि उत्पादनमा आधारित कृषि तथा पशुजन्य उत्पादनमा अनुदान दिने नीति नगरपालिकाले लिने समेत बैठकले निर्णय गरेको छ ।
नीलकण्ठ नगरपालिका धादिङको मेयरमा नेपाली कांग्रेसका भिम प्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका हुन् भने उप–मेयरमा नेकपा(माओवादी केन्द्र)का दिपक विश्वकर्मा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस