धादिङ ०९ जेष्ठ
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । सोमबार एक कार्यक्रमका बिच मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत धादिङका न्यायाधिश रमेश प्रसाद ज्ञवालीले शपथ ग्रहण गराउनुभएको हो ।
२ नगरपालिका सहित १३ स्थानीय तह रहेको धादिङमा पालिका प्रमुखहरुमा नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङ गाउँपालिका, अध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले शपथ ग्रहण गरेका थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एमाले लगायतका राजनैतिक दलका प्रमुखहरुको उपस्थिति रहेको थियो भने जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, निर्वाचन अधिकृतहरुको सहभागिता रहेको थियो ।
धादिङमा ७ पालिका प्रमुख, ५ उप–प्रमुख र ३६ वडा सहित कांग्रेस पहिलो भएको छ भने ३ पालिका प्रमुख, ५ उप–प्रमुख सहित ३२ वडा अध्यक्ष सहित माओवादी केन्द्र दोस्रो भएको छ । यस्तै २ पालिका प्रमुख र २१ वडा सहित नेकपा एमाले तेस्रो, १ पालिका प्रमुख, ३ उप–प्रमुख र ६ वडा सहित एकीकृत समाजवादी चौथो भएको छ भने ४ वडा वडा राप्रपा, ४ वटा स्वतन्त्र र १ वडा जसपाले जितेको छ ।
प्रतिक्रिया दिनुहोस