स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् । तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् ।
जिल्लामा मतान्तर प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याए ।
शुन्य मत हुने उम्मेदवार
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ उम्मेदवारले एक मत पनि पाउन सकेनन् । एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामिछाने, विदुर–४ को वडाध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार रहेका छन् । यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सकेनन् ।
यसैगरी पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् ।
प्रतिक्रिया दिनुहोस