धादिङ २९ आषाढ
गजुरी गाउँ पालिका धादिङमा आइतबार एक कार्यक्रमकाबीच खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजनाको विमोचन कार्यक्रम सम्पन्न भएको छ । गाउँ पालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँ पालिकाकी उपाध्यक्ष सीता ढुङ्गाना वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । गजुरी गाउँ पालिकाको आयोजना तथा फियान नेपालको प्राविधिक सहयोगमा गाउँ पालिकाको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना संघीय सांसद भूमि त्रिपाठीले सार्वजनिक गरेका हुन् ।
संविधानको धारा ३६ मा नागरिकको मौलिक हकका रुपमा स्थापित खाद्य अधिकारको प्रत्याभूति दिलाउनका लागि रणनैतिक योजना तयार पार्नेमा गजुरी गाउँ पालिका देशकै दोस्रो बनेको छ । कार्यक्रममा रणनैतिक योजना निर्माण गर्नमा प्राविधिक विज्ञका रुपमा काम गरेका लुमनाथ अधिकारीले योजना निर्माण भएता पनि कार्यान्वयनमा चुनौति देखिएकाले कार्यविधि निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।अधिकारीले पूर्वाधारको विकास, कृषिमा आधुनिकीकरण, कृषि बजारको व्यवस्थापन, पिछडिएका तथा गरिबीको रेखामुनी रहेको समुदायका लागि विशेष कार्यक्रम, युवाहरुको लागि रोजगारीको सिर्जना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय सांसद भुमि त्रिपाठीले संविधानमै प्रद्धत्त नागरिकको खाद्य अधिकार सुनिश्चित गर्नका लागि स्थानीय सरकार दत्तचित्त भइ लाग्नुपर्ने बताउनु भयो । त्रिपाठीले आम नागरिकले आफ्नो जीवनमा परिवर्तनको आभाष गर्नुपर्ने बताउनु भयो । गजुरी गाउँ पालिकाका माथिल्लो भेग महाभारत पवर्तमालासँग जोडिएकाले पर्यटकीय सम्भावना प्रचुर रहेको बताउँदै कागती, मोरिङ्गा, बेल, एभोकाडो, अमला जस्ता बहुमूल्य औषधीको उत्पादन गरी सम्बृद्ध गजुरी निर्माणमा लाग्न स्थानीय सरकारलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै गाउँ पालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले भोका नाङ्गा गरिब जनताको खाद्य अधिकार सुनिश्चित गर्न गाउँ पालिकाले कुनै पनि कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस