कपिल जम्कट्टेल
धादिङ २८ आषाढ
धदिङ जिल्लामा रहेर नियमित साहित्यिक अनुष्ठानमा सक्रिय सिर्जना प्रतिष्ठान धादिङले शनिबार व्यङ्ग्य साहित्यका धरोहर स्व. कृष्ण प्रसाद घिमिरे मैदेलीको स्मृति तथा श्रद्धाञ्जली समारोह सम्पन्न गरेको छ । मैदीको पोखरी चोकमा वि.सं. २०१० सालमा जन्मेका मैदेली लामो समय शिक्षण पेशामा आबद्ध रहेता पनि व्यङ्ग्य साहित्यको क्षेत्रमा समेत उनको योगदान अतुलनीय रहेको छ । मैदेलीले मान्छे, सिस्नुखेती, ट्याबलेट मान्छे, घिमिरेको घुङ्गटो लगायतका विभिन्न कृति र फुटकर रचनामार्फत समाजको बेथिति विसङ्गतिप्रति तिखो व्यङ्ग्य प्रस्तुत गरेका छन् ।
सिर्जना प्रतिष्ठान धादिङका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार डा. नवीनबन्धु पहाडी, वद्रि दाहाल लगायतको उपस्थिति रहेको थियो । सानैदेखि मिलनसार, धैर्यवान् मैदेलीको बोलीमै व्यङ्ग्यात्मकता रहेको कुरा सम्झदै नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु सिलवालले उनको सफलतामा दिदीको महत्त्वपूर्ण हात रहेको बताउनु भयो ।साहित्यकार डा. पहाडीले मैदेलीको योगदान शिक्षा, साहित्यको व्यङ्ग्य क्षेत्रमा रहेको बताउनु भयो । घिमिरे अन्नपूर्ण, शुक्रबार, गोरखापत्र जस्ता पत्रिकाका नियमित स्तम्भकार समेत हुन् । मैदेलीको २०७६ जेष्ठ ९ गते विहीबार ६५ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस