धादिङ २३ वैशाख
माओवादी जनयुद्धकालमा ज्यामरुङमा पार्टीलाई सघाउने एकजना आमा हुनुहुन्थ्यो । उहाँको नाम नै आमा बन्यो । उनै आमाको छोरा हुन् नीलकण्ठ-१० बाट वडाध्यक्षको उम्मेदवार बनेका माओवादीका युवा नेता हुन् कुमार थापा ।
२० माघ ०५७ को मध्यराति थापाको घरलाई नेपाल प्रहरीको एउटा टुकुडीले घेरा हाल्यो । उतिबेला माओवादीविरुद्ध तत्कालीन शाही नेपाली सेना परिचालित भइसकेको थिए । कुमार थापा निदाइरहेका थिए । उनकी आमा दौडिंदै आइन् । कपाल समातेर उठाउँदै उनले भनिन्- ‘प्रहरीले घर घेर्यो, झ्यालबाट हाम फालेर भाग ।’ कुमारको मनमा कुरा चल्यो । ‘म भागेँ भने आमालाई पो केही गर्छ कि ? बरु म बसेँ भने कुटपिट गर्ला, केही दिन बेपत्ता पार्ला । मारी त नहाल्ला’ उनले सोचे र आमालाई भने- ‘म जान्नँ ।’ २२ वर्षको छोरोलाई मारिहाल्छ कि भन्ने पिरले आमाको मन मानेन । साह्रै कर गरिन् । झ्यालबाट धकेल्न थालिन् । उनी भान्छामाथिको झ्यालबाट हाम फाले ।
हामफाल्दा ‘ड्याङ्ग’ आवाज आयो । प्रहरीले थाहा पाएपछि अन्धाधुन्ध फायर गर्न थाल्यो । उनको कान वरिपरि हुँदै गोली चल्न थाले । तर उनी बेतोडले भागे । सिस्नुघारी हुँदै स्यान्डो र कट्टु लगाएर खाली खुट्टा उनी ज्यान जोगाउन भागीरहे । सेतो स्यान्डोलाई प्रहरीले निशाना बनाइरह्यो । उनले त्यही स्यान्डो पनि खोलेर भागिरहे । अन्ततः उनी बाँचे । ज्यान जंगलमा पुगे पनि कुमारको मन घरमै थियो । कतै आमालाई केही गर्यो कि ? उनी छिमेकी गाउँ भारमाले पुगे । तर उनलाई कसैको घरमा जान चाहेनन् । कारण थियो- सुरक्षा । उनी रातभरि हिंडेर धेरै तल पुगे । कहाँ जाने ? घर फर्किऊँ भने प्रहरीले मार्ने होला । उनी एकजना छिमेकीको घरमा पुगे । दुवै खुट्टाका बुढी औंलाको नङ गएछ । पैतालाभरि फोका उठेका ।
सिस्नोले पोलेको र काँडाले घाइते बनाएको शरीर । तर उनलाई शरीरभन्दा बढी आमाको चिन्ता दुखिरहेको थियो । उनले गाउँले भाइलाई घरको अवस्था बुझ्न पठाए । ती भाइले अँध्यारो मुख लिएर फर्किए साथमा केही कपडा पनि । कपडा लिन भन्दा अँध्यारो अनुहारको रहस्य बुझ्न हतार भयो कुमारलाई । उनले भने, ‘घरमा केही भएको छैन तर प्रहरीले तपाईंको भाइलाई लगेछ ।’ उनी असाध्यै आत्तिए । दिउँसो आमा भेट्न गए उनी । आमा खाजा बोकेर आएकी रहिछिन् । उनीहरू एकअर्कालाई हेरेर रुन थाले । खाजा खान नपाउँदै पाङ्ग्रे गाउँमा प्रहरी आएको हल्ला आइपुग्यो ।
स्थानीय मुद्दा मिलाउन आएको रहेछ प्रहरी तर हामी डराउनुपर्ने अवस्था आयो । केही दिन उनी गाउँ बाहिरै बसे । उनै कुमार यसपटकको स्थानीय निर्वाचनमा धादिङको नीलकण्ठ-१० को वडाध्यक्ष उम्मेदवार बनेका छन् । उनी भन्छन्, ‘यो मेरो नाफाको जीवन हो, यसबीचमा पनि म राजनीति र समाजसेवामा सक्रिय भइरहेँ, यसपटक यहाँका मतदाताले मलाई विश्वास गर्नुहुन्छ ।
‘पालिकास्तरमा गठबन्धन भए पनि यो वडामा त्रिपक्षीय स्पर्धा देखिन्छ अर्थात् नेपाली कांग्रेस, एमाले र माओवादीका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त छ । यद्यपि, नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवार थापालाई नै समर्थन गरेको छ । ‘मेरो भेगमा मलाई माया गर्ने धेरै छन् । स्थानीय निर्वाचन हो ।
अधिकांश समय गाउँमै रहने थापा आफै पनि एक कृषक हुन् । उनी आफै कृषि कर्ममा लागेका कारण स्थानीयहरुको कृषि औजारहरु विग्रदा समेत आफैले बनाएर स्थानीयको घरसम्म पु¥याउँछन् । तसर्थ स्थानीयको चाहना आफ्नो प्रतिनिधिलाई बिहान, दिउसो, बेलुका जुनसुकै समय पनि भेट्न पाइयोस् आफ्नो समस्या समाधन गर्न पाइयोस् भन्ने नै रहने उनको बुझाइ छ । यो हिसाबले पनि एकपटक कुमार थापालाई निर्वाचित गराउने दृढ निश्चय स्थानीयहरुको रहेको थापा बताउँछन् ।
पार्टीभन्दा राम्रो मान्छे हेर्ने जनताको रुचि छ । यो कोणबाट पनि मेरो अनुकूलता बढी छ,’ उनी भन्छन् । उनी भन्छन्, ‘उहाँहरूले मलाई सहानुभूति दिइरहनुभएको छ । यो मेरो थप अनुकूलता हो ।’
प्रतिक्रिया दिनुहोस