धादिङ २१ वैशाख
नेपाली कांग्रेस धादिङले केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवारी कायमै राखेका पार्टी सदस्यहरूलाई पार्टीबाट निष्कासन गरेको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टिका सदस्यहरुलाई निष्कासन गरेको हो ।
स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पटक पटक अनुरोध गर्दा पनि फिर्ता लिन अस्वीकार गरेको भन्दै पार्टीकोे झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न विज्ञप्ति मार्फत सचेत गराइएको छ ।
निष्काशित हुनेमा नीलकण्ठ नगरपालिकामा उप–मेयरकी उम्मेद्वार कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्षका उम्मेद्वार टेकजंग लामा, खनियावास गाउँपालिकाका अध्यक्षका उम्मेद्वार फुलबहादुर तामाङ र उपाध्यक्षका उम्मेद्वार सरिता तामाङ लगायत नीजहरूका प्रस्तावक र समर्थक साथै पार्टी र पार्टीले समर्थन गरेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, नीजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) धारा ४ उपधारा १३ (ग) बमोजिम विपरीत गतिविधि गरेको हुनाले नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको विज्ञप्ति मार्फत भनिएको छ ।
पार्टी सभापति रामनाथ अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त उम्मेद्वारहरुलाई नेपाली काङ्ग्रेसको झन्डा र लोगो समेत प्रयोग नगर्न चेतावती दिइएको छ । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवीप्रसाद सिलवालले भने निष्कृय रहने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस