धादिङ २२ वैशाख
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ को स्थानीय निर्वाचन रोचक देखिएको छ । ०७४ को निर्वाचनमा नेपाली काङ्ग्रेसले बाजी मारेको उक्त वडामा यो निर्वाचनमा भने रोचक भिडन्त हुने देखिएको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेसका लेखबहादुर अधिकारीसँग पराजित भएका माओवादी केन्द्रका हरि विश्वकर्मा आफूले निर्वाचन जित्ने दृढ अठोटका साथ चुनावी मैदानमा होमिएका छन् ।
उमेरले जम्मा ३२ वर्ष मात्र भएका विश्वकर्मा राजनैतिक रुपमा भने जनतामा निकै लोकप्रिय नेताको छबि बनाएका व्यक्ति हुन् । उमेरले ६० पुगेका नेकपा एमालेका देब बहादुर बसौला र नेपाली कांग्रेसका राम प्रसाद बुर्लाकोटी तथा ५१ वर्षीय राप्रपाका हेम विक्रम शाहसँग उनी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
वडाका युवा, दलित, महिला, जेष्ठ नागरिक र अन्य राजनैतिक दलमा समेत लोकप्रिय छबि बनाएका विश्वकर्मा आफू निर्वाचन जित्नेमा विश्वस्त छन् ।
एउटा सामान्य दलित एवं किसान परिवारको व्यक्ति भएकाले आफू विजयी भएपछि त्यही वर्गको उत्थान र उन्नतिका निम्ति काम गर्ने प्रतिबद्धता जनाउँदै आएका विश्वकर्मा एक कार्यकाल त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यपालिका सदस्यको रुपमा समेत काम गरेर अनुभव बटुलिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस