धादिङ २५ आषाढ
आषाढ १८ गते राती खाना खाने बेलामा कान्दा गोली लागि घाइते भएका वेनीघाट रोराङ गाउँ पालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ । नर्भिक अस्पताल काठमाडौँमा उपचाररत चेपाङलाई भोलि डिस्चार्ज गरिने नेपाल चेपाङ संघका केन्द्रीय प्रतिनिधि तिलक चेपाङले बताउनु भयो । चेपाङको उपचारमा बेनिघाट रोराङ गाउँ पालिका, लक्ष्मी प्रतिष्ठान चितवन लगायत विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेका थिए । उपचारमा करिब ४ लाख भन्दा बढी रकम खर्च भएको तिलक चेपाङले बताउनु भयो । राती घरमै आएर राप्ती नगरपालिका १३ कान्दा चितवन स्थायी घर भएका इन्द्र कुमार चेपाङले गोली हानी फरार रहेका थिए । फरार रहेका चेपाङले यो भन्दा अगाडि पनि कान्दा चितवनका २ विद्यार्थीहरुलाई बलात्कार गरेको, कान्देश्वरी आधारभूत विद्यालयका शिक्षकहरुलाई धम्क्याउने गरेको प्रहरीले बताएको छ । चेपाङको खोजी कार्यका लागि प्रहरीको टोली खटिए पनि हालसम्म फेला पार्न सकेको छैन ।
विभिन्न समयमा गाउँ पसेर घटना घटाउने अनि ओडारमा गइ लुक्ने गरेका चेपाङ बस्ने ओडार भेटिएता पनि उनी भागेका कारण खोजी कार्यमा अत्यन्त कठिनाइ देखिएको तर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस