धादिङ २१ वैशाख
स्थानीय तह निर्वाचन २०७९ का लागि त्रिपुरासुन्दरी गाउपालिका धादिङ गठबन्धन दलको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । त्रिपुरासुन्दरी गाउपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट राजु उप्रेती र उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि माओवादीको तर्फबाट देवराज धरेलले उम्मेद्वारी दिनुभएको छ ।
१८ बुँदामा सार्वजनिक गरिएको साझा प्रतिबद्धता पत्रमा समृद्ध त्रिपुरासुन्दरी सुखी त्रिपुरासुन्दरीवासी बनाउन भ्रष्टचारमुक्त शासन एवं जनताको सेवकको रुपमा आवश्यक जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
यस्तै, बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु गराई प्रभावित जनतालाई न्यायोचित तबरले व्यवस्थापन गर्ने, पर्यटन स्थल निर्माण गर्ने, पाँच वर्ष भित्रमा सबै घरमा स्वच्छ खानेपानी पुर्याइने, पालिका भित्र सञ्चालित उद्योग व्यवसायीहरुलाई सहुलियत कर्जा प्रवाहको व्यवस्था गर्ने, पालिका भित्र निःशुल्क शिक्षा लागु गर्ने लगायतका रहेका छन् ।
७ वटा वडा रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सम्भु कुमार थापा अध्यक्षमा र नेपाली कांग्रेसबाट देवी बुर्लाकोटी उपाध्यक्ष पदमा विजयी हुनुभएको थियो ।
पालिका अध्यक्ष उपाध्यक्षमा गठबन्धन भएता पनि वडा नं. ७ बाहेकका वडाहरुमा एकल प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिबद्धता पत्र
प्रतिक्रिया दिनुहोस