धादिङ २० वैशाख
धादिङको नीलकण्ठ नगरपालिकामा उपमेयरको पदमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी नेतृ अधिकारीले आफूले पार्टी संगठनको रक्षाका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले कांग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गर्दै पार्टी, संगठन, समाज, सबै दाजुभाई, दिदी बहिनीको मन मर्न नदिन स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।
उनले समग्र महिला र युवाहरुको खोला जस्तै आँशु बगिरहेको भन्दै २० वर्ष लामो कांग्रेसको राजनीतिलाई तिलाञ्जली दिएर स्वतन्त्र उम्मेदवारको रुपमा उभिएको बताउनुभयो । उनले आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको बताइन्।
उनले सत्ता साझेदार दल बीचको चुनावी गठबन्धन प्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी आफ्नो निम्ति नभई संगठनको बचाउको लागि भएको दाबी गर्नुभएको छ ।
लामो समयदेखि आफू कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै आफूले रुख चिन्हमा खुशीसाथ लड्न पाउनुपर्नेमा नपाएको गुनासो गर्नुभएको छ । रुख चिन्हमा लड्ने आफ्नो अधिकार भएको दाबी गर्दै पार्टीले संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको कोटा कटौती गरेको उनले टिप्पणी गर्नुभएको छ ।
उनले आफ्नो मात्र नभएर हजारौँ, युवा, जनजाति, महिलाको आवाज सम्झेर गुलाबको फूलमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस