धादिङ २० वैशाख
स्थानीय तह निर्वाचनका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार कृष्ण बहादुर थपलिया(बिबेक) बेनिघाट रोराङबासीबिच लोकप्रिय पात्र हुन् । १० वर्षे माओवादी जनयुद्धको क्रममा आफ्नै परिवारका बुबा, दाजु र भाइ गरी ३ सदस्यलाई गुमाएका विबेक आफू पनि जनयुद्धका कुशल सिपाही हुन् ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि आम बेनिघाट रोराङबासीको हरेक समस्यामा मल्हमपट्टी बनेर जनताको काममा दिनरात नभनी निरन्तर लागि रहने बिबेक यतिबेला चुनावी महासंग्राममा होमिएका छन् । पहिलो स्थानीय तह निर्वाचनमा नै अध्यक्षको बलियो दाबेदार रहेका विबेकले अन्तिम समयमा आएर टिकट पाएका थिएनन् ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रबाट अध्यक्षको टिकट पाएका विवेकले आफू गरिब र किसान परिवारबाट आएकाले गरिब र किसानहरुको वास्तविक समस्या आफूले महसुस गरेको र निर्वाचित भएपश्चात उनीहरुकै निम्ति काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । राजनैतिक दलहरुले जनतामा झुटो आश्वासन बाढ्ने काम गरेकोले आम नागरिकहरुमा राजनीतिप्रति वितृष्णा बढेको महसुस गर्दै विवेक जनतामा आश्वासन बाढ्ने भन्दा पनि वास्तविक गरिब र किसान तथा मजदुरको पक्षमा आफूले काम गरेर देखाउने बताउनु हुन्छ ।
बेनिघाट रोराङ गाउँपालिकाका हरेक वस्ती बस्तीमा आफू परिचित रहेको र त्यहाँका अल्पसंख्यक तथा गरिबीको रेखामुनी रहेका चेपाङ समुदायको वास्तविक समस्या हल गर्न आफूले पहिलाबाट नै पहल गरिरहेकोले आम नागरिकको माया र विश्वास आफूमा रहेको बताउदै बिबेकले आफ्नो जित सुनिश्चित जस्तै रहेको दाबी समेत गर्नुभयो ।
विवेकको राजनैतिक इतिहास
धादिङको बेनीघाट–रोराङ गाउँपालिका ७– साबिक धुषा गाविसमा जन्मिएका विवेक जनयुद्धको क्रममा राज्य पक्षबाट आफ्ना पिता, दाइ र भाइ मारिएपछि १२ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । भरखरै किशोर अवस्थामा प्रवेश गर्दै गर्दा आफ्ना पिता, दाजु र भाइ गुमाउनु पर्दाको पीडाले राज्यप्रति विद्रोहको भाव उनको मनमा पैदा भयो । आफ्नो परिवार गुमाउनुपर्दाको पीडा र शोकलाई शक्तिमा बदल्दै उनी आफू पनि २०५४ सालबाट जनयुद्धमा होमिए ।
युद्ध चर्किदै जादा देशमा संकटकाल लागु भयो । देशको आमूल परिवर्तनका निम्ति ज्यानको बाजि राखेर युद्धमा होमिएका बिबेक सुरुमा राज्यले परिवारमाथि गरेको हमला विरुद्ध प्रतिकारमा माओवादी बने । बिस्तारै माओवाद बुझ्दै गएपछि राज्यको आमूल परिवर्तन र गरिब निमुखाको पार्टी नेकपा(माओवादी केन्द्र) नै हो भन्ने बुझाइका साथ अझ शसक्त रुपमा युद्धमा लामबद्ध भए ।
बन्दुकको गोलीबाट सत्ता प्राप्त हुने माओको सिद्धान्तलाई आत्मसात गर्दै उनले राज्यव्यवस्था परिवर्तन माओवादीले मात्र गर्न सक्द्ध भन्ने बुझे । युद्ध कालमा गाउँ बस्ती टोल टोलमा माओवादको प्रचारप्रसार गर्न होस् या युद्ध समाप्त भएपछि घाउहरूमा मलम लगाउन होस्, जनताको सुख दुःखमा पहिलो नम्बरमा नै हाजिर हुने नाम हो बिबेक । पटक पटक पार्टीभित्रैबाट अवसर पाउन बञ्चित बनेका उनी अविचलित माओवादी आन्दोलनमा होमिइरहे ।
हाल नेकपा(माओवादी केन्द्र)को प्रदेश सचिवालय सदस्य एवं संघीय निर्वाचन क्षेत्र नं. १ को इन्चार्ज समेत रहेका विबेक यतिबेला बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनेका छन् । एकीकृत नेकपा समाजवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएका उनी आफू जितको नजिक पुगेको बताउँछन् । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा(माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष सहित ५ वटा वडामा विजयी भएको उक्त गाउँपालिका माओवादी केन्द्रको राम्रो पकड भएको गाउँपालिकाको रुपमा परिचित छ ।
प्रतिक्रिया दिनुहोस