सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् । सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस स्रोतले बताएको छ ।
सामूहिक राजीनामा आएपछि नगरकमिटीको बैठक बसिरहेको छ । राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन् ।
गत १० गते नै जिल्लामा कांग्रेसले पत्रकार सम्मेलन गरेर गोरखामा केही नेताको स्वार्थका कारण गठबन्धन गर्न नसकेको बताएको थियो । त्यस बेला पनि भागबण्डामा कुरा नमिलेर गठबन्धन बन्न नसकेको हो । तर, जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाइ सरकार ढाल्ने बताएपछि देउवाले गत १६ गते निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस