धादिङ १६ वैशाख
शुक्रबार धादिङ बेसीमा एक दिने पत्रकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षक चिरन्जिवी अधिकारीले सञ्चारमा नयाँ नयाँ प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ ? सामाजिक सञ्जाललाई साइवर सुरक्षा कसरी गर्ने ? प्रचार प्रसारमा सामाजिक सञ्जालहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने जस्ता विषयवस्तुमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
रेडियो व्यवस्थापन समिति अध्यक्ष अमृत तामाङको अध्यक्षता रहेको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य तथा नीलकण्ठ नगरपालिकाका कार्यबाहक मेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो भने अतिथिहरुमा नेकपा माओवादी केन्द्रका नेता शम्भु श्रेष्ठ, दिपक विश्वकर्मा, प्रशिक्षक चिरञ्जिवी अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण सिलवालको आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुर्लाकोटिले प्रशिक्षण लिइ प्राप्त ज्ञान, सीपलाई आफ्नो क्षमता र कलाको माध्यमबाट गठबन्धनको प्रक्रियालाई आधार मानेर आधिकारिक सुचनाहरुलाई संकलन गरी सकारात्मक समाचार र सूचना प्रसार प्रचार गर्न अनुरोध गर्नुभएको थियो ।
यस्तै विशेष अतिथि भण्डारीले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारका प्रतिनिधि जनताको मन जित्ने खालका आउनु पर्ने बताउनु भयो ।
रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा व्यवस्थापन समिति सदस्य हरिकृष्ण लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस