सत्तापक्षिय गठबन्धमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलेको छ । हिजोदेखि महानगर र उपमहानगर पालिकाको भागबण्डा मिलाउनको लागि दलहरू निरन्तर रूपमा छलफलमा रहेका थिए ।
गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको बिषयलाइ लिएर विवाद भएको थियो । आजको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख काँग्रेसले लिने सहमति भएको छ । योसँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको हो ।
दलहरूको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व काँग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउने छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउने छ । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व काँग्रेसले पाउने छ ।
महानगरपालिकाको भागवण्डा हिजो नै टुङ्गिएको थियो । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा आज नै हस्ताक्षर हुने नेताहरूले बताएका छन् । अब बाँकी रहेको नगरपालिका तथा गाउँपालिकाको बिषय भने टुङ्गो लगाउन बाँकी रहेको छ । गठबन्धनका नेताहरूले बाँकी पालिकामा भने स्थानीय आवश्यकता अनुसार तालमेल गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस