धदिङ २१ आषाढ
स्मार्ट नीलकण्ठ समाज जरेबर धादिङले शनिबार रैथाने धान बाली संरक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय युवाहरुको सक्रियतामा भएको उक्त कार्यक्रममा पहिलैदेखि रोपिदै आएको रैथाने धानहरु लोप हुँदै गएको र हाइव्रिड जस्ता नयाँ धानहरुले मानव स्वास्थ्यमा हानी, पौष्टिक तत्व नभएका कारण पुराना धानका विउ विजनहरुको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको स्मार्ट नीलकण्ठ समाज जरेबरका उपाध्यक्ष सन्तोष भण्डारीले बताउनु भयो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारी लगायत स्थानीय अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कालोकाठे, काउचिन, राजभोग, कञ्जिरा, ब्रेमफुल, रातो कालोकाठे, सीता मसिना लगायतका धानका विउ जमाएर रोपाई समेत गरिएको संस्थाका सचिव राजु थापाले बताउनु भयो । पुराना रैथाने धानबालीको संरक्षणमा स्थानीय युवाहरुको सक्रियताले कृषकहरुलाई रैथाने धानबाली लगाउन प्रेरित गरेको नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस