भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५० जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा उनीहरूले राजीनामा दिएर अब स्वतन्त्र अभियान चलाउन लागेको बताएका छन् । पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेल सहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले काँग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।
भरतपुरको मेयर रेणु दाहाललाई छाडिए काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस