धादिङ १६ चैत्र
स्थानीय तह स्थापना भएको झण्डै पाँच वर्षमा अझै पनि देशभकार तीन वटा पालिका बैङ्कको पहुँचमा पुग्न सकेका छैनन् । धादिङको रुबीभ्याली गाउँपालिका , जाजरकोटको जुनीचाँदे गाउँपालिका तथा बझाङको साइपाल गाउँपालिकामा बैङ्क पुगेको छैन । रुबीभ्याली र जुनीचाँदेमा बैङ् स्थापनाको प्रक्रियामा रहेको छ तर साइपाल गाउँपालिकामा भने यसको प्रक्रिया समेत सुरू भएको छैन ।
२०७५ असार मसान्तसम्म सबै स्थानीय तहमा बैङ्कको शाखा विस्तार गर्ने लक्ष्य लिईएको भए पनि भौगोलिक विकटताका कारण सम्भव नभएको राष्ट्र बैङ्कका जनसम्पर्क इकाइ प्रमुख डा. भागवत आचार्यले बताउनुभयो ।
एउटा मात्रै बैङ्कको शाखा पुगेको स्थानीय तहमा प्रभावकारी काम गर्न नसकेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् । खासगरी सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या देखिएको गुनासो राष्ट्र बैङ्कमा पनि आइरहेकाले थप शाखा स्थापना गर्न प्रोत्साहन गर्ने तयारी भएको इकाइ प्रमुख आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस