प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा धादिङको क्रिकेट टोलीले काठमाडौंमाथि ऐतिहासिक जित हासिल गरेको छ ।
चितवनको भरतपुरस्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध रंगशालाको नमुना मैदानमा शनिबार सम्पन्न खेलमा धादिङले काठमाडौंलाई ४ विकेटले हराउँदै ऐतिहासिक जित दर्ता गरेको हो । धादिङ जिल्ला क्रिकेट टोलीले खेलेको यो पहिलो आधिकारिक प्रतियोगिता हो ।
जितका लागि काठमाडौंले दिएको १८२ रनको लक्ष्य धादिङले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । धादिङलाई ऐतिहासिक जित दिलाउन अमृत थापाले सर्वाधिक ८३ रनको अर्धशतकीय इनिङ खेले।
यस्तै कौशल रुपाखेतीले १७, उज्वल थापाले २९, स्वपनील अधिकारी १२, आरम्भ तिमिल्सिना १३ जोड्दा कप्तान श्याम त्रिपाठ्ठीले ४ रन जोडे बलिङतर्फ काठमाडौंका लागि राजन जिसीले सर्वाधिक ३ विकेट हात पार्दा आरियो पौाडेलले २ तथा सुमनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८१ रन जोडेको थियो। उसका लागि रविन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले भने सम्राट भुषालले ४४ रन बनाए ।
बलिङमा धादिङका लागि सन्देश सापकोटाले २ तथा कौशल रुपाखेती, उज्वल थापा, रुपेश भुजेल र अमृत थापाले १–१ विकेट लिए । पहिलो खेलमा धादिङले रसुवालाई ९ विकेटले हराएको थियो । अब धादिङले आइतबार फाइनल प्रवेशका लागि काभ्रेसँग खेल्नेछ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी पहिलो संस्करणको प्रतियोगितामा बागमती प्रदेशका १२ जिल्लाले प्रतिस्पर्धा गरिरहेको छ।
प्रतियोगिता अन्तर्गत क्रिकेटको फाइनल खेल भने चैत सात गते सोमबार हुनेछ ।
स्रोत :मेरो खेल डटकम
प्रतिक्रिया दिनुहोस