नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गयरातिबाट लागुहुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो । बढेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पर्नेछ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १ सय ५१ पुगेको छ भने वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १ हजार ४ सय ९५ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस