धादिङ २७ फागुन
धादिङको सिद्धलेक गाउँपालिका–१ कालिदह र सिद्धलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ ।
थोपलखोला माथी बन्न लागेको पुलको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न आग्रह गर्नुभएको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेले थोपलखोलामाथी बनेको पुलले गाउँगाउँमा विकासले फड्को मार्ने बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको उक्त ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजारबाट झर्न सकिने स्थानियले बताएका छन्।
फोटो स्रोत : पाबिल न्यूज
प्रतिक्रिया दिनुहोस