धादिङ २५ फागुन
नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । वि सं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुनर जयबाबार काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पान मध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृत मणि रिमालले जानकारी दिनुभयो ।
उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।
गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ । भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ ।
गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ ।
यसअघि मौखिक र पत्रमार्फत दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा प¥याइएको छ । तोकिएको सम्झौता भन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ ।
पुल निर्माणका लागि छ वर्ष अघि रु आठ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले रु छ करोड २३ लाखमा बनाउने जिम्मेवारी पाएको थियो ।
प्रतिक्रिया दिनुहोस