गोरखा २३ फाल्गुण
गण्डकी गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न भएको छ । चालु आ.ब. २०७८/७९ को आर्थिक ऐनमा संसोधन गर्दै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको हकमा ढुंगाको प्रति घनमिटर रू ३०० बाट घटाएर रू ८० कायम गरिएको छ भने निर्माण ब्यबसायी मार्फत हुने योजनाको हकमा भने प्रति घन मिटर रू ३०० यथाबत राखिएको छ साथै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा प्रयोग गरिने डोजर, ब्याक होल्ड लोडर, रोलर जस्ता हेभी ईकुइप्मेन्टमा लिईदै आएको १०५ बहाल करमा छुट दिने निर्णय समेत गरेको छ ।
त्यसै गरी गण्डकी गाउँपालिका खानेपानी बोर्ड स्थापना र ब्यबस्थापन गर्न बनेको ऐन, २०७८ को प्रथम संसोधन पनि गरेको छ भने लेखा समितिले पेश गरेको लेखा समिति प्रतिबेदन समेत पारित गरेको छ । बिबिधतामा एकता गण्डकी बासीको सान, समृद्ध गण्डकी हाम्रो अभियान भन्ने दीर्घकालीन सोचका साथ गण्डकी गाउँपालिकाको प्रथम पन्चबर्षीय आवधिक योजना सभाबाट पारित भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा प्राप्त नतिजा ६०.७५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा प्राप्त नतिजा ८३ लाई समेत सभाले अनुमोदन गर्नुका साथै चालु आ.ब. २०७८/७९ का केही योजना तथा कार्यक्रम संसोधन तथा गाउँपालिकाबाट भएका निर्णयहरुको अनुमोदन तथा खर्च समर्थन गर्दै नवौं गाउँ सभा सम्पन्न भएको गाउँपालिकाका रोजगार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस