कृष्ण बहादुर लामिछाने
गोरखा २१ फाल्गुण
मेहनती सामुदायिक ग्रामीण विद्युत सहकारी संस्था लि. भिमसेनथापा गाउँपालिका २ र ३ को ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । १ हजार १० सेयर सदस्य रहेको विद्युत सहकारी संस्थाले वडा नं. २ र ३ को ९ सय ३७ घरधुरीमा बत्ती बाल्नुका साथै ६ वटा पम्पिङ खानेपानी, ५ वटा विद्यालय, १२ वटा राइस मिल, २ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य चौकी र एक कृषि फर्ममा विद्युत प्रशारण गरेको छ ।
११ औँ साधारण सभामा उत्कृष्ठ उद्योगबाट २ जना असल ग्राहकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा निकिता राइस मिलका सञ्चालक तुलसी प्रसाद भट्ट र डिल्लिराम राइस मिलका सञ्चालक डिल्लिराम ढकाल रहनुभएको छ । संस्थाका उपाध्यक्ष मेघनाथ बञ्जराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव प्रेम कुमार पुडासैनीले संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्नुभएको र कोषाध्यक्ष शेषनाथ भट्टराईले रु. २४ लाख ६० हजार ३ सय २४ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ज्ञान प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा भिमसेनथापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्य, उपाध्यक्ष विनु वाग्लेको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा नं. २ र ३ का वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृयाशील राजनैतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्य र संस्थाका सेयर सदस्यहरु र विद्युत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस