धादिङ १९ फाल्गुण
धादिङको धुवाकोटमा सहिद परिवार भेटघाट तथा सहिद पार्क शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शहिद प्रतिष्ठान धुवाकोट र नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका समितिको आयोजनामा शहिद सप्ताह(फागुन १४–२१) को अवसरमा धुवाकोट पात्ले, धादिङमा शहिद पार्क शिलन्यास तथा शहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
माओवादी केन्द्र बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष एवं नीलकण्ठ नगर उप–प्रमुख मनराज भण्डारीको विशेष आतिथ्य, नेता दिपक विश्वकर्मा, नगर कमिटी अध्यक्ष सम्भु कुमार श्रेष्ठ, लगायतको आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि बुर्लाकोटीले सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्दै सहिदले देखाएको बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै सहिदको बलिदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्न आम पार्टी पङ्ति र कार्यकर्ता तथा जनताहरुलाई आग्रह गर्नुभयो ।
धुवाकोटबाट जनयुद्धको क्रममा ८ जनाले सहादत प्राप्त गरेका छन् । उनीहरुकै सम्मान र सम्झनामा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सहिद पार्क निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस