रुस र युक्रेनबीचको युद्धको सात दिन भएको छ । यो अवधिमा रुसले युक्रेनको खेरसन र बर्दियान्स्क लगायतका सहरमाथि आक्रमण गर्दै कब्जा गरिसकेको छ भने खारकिवमा आक्रमण जारी राखेको छ ।
हालसम्म रुसको आक्रमणका कारण ६ लाख ५० हजारभन्दा बढी युक्रेनी नागरिकले देश छाडिसकेका छन् भने लाखौं नागरिक विभिन्न बङ्करमा लुकेका छन् । युद्धको सातौंदिन आजपनि दुई देशबीच वार्ता हुने तय भएको छ । यसअघि सोमवार भएको वार्तामा सहमति भने हुन सकेको थिएन । तर, वार्ताको क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किले तत्काल युद्धविरामका लागि रुससँग आग्रह गर्नुभएको थियो । युक्रेनको आग्रहमा रुसले कुनै सहमति जनाएन ।
यता, रुसका विदेशमन्त्री सर्गेई लाभरोफले युक्रेनलाई परमाणु हथियार प्राप्त गर्न नदिने बताउनुभएको छ । उहाँले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुने चेतावनी पनि दिनुभयो । उहाँले रुस युक्रेनसँग कुराकानी गर्नका लागि तयार रहेको तर, युक्रेन अमेरिकाको ईशारामा चलिरहेको आरोप लगाउनुभयो । यसैबीच, युक्रेनले युद्धको क्रममा ५ हजार ८ सय ४० जना रुसी सेनाको मृत्यु भएको दावी गरेको छ
प्रतिक्रिया दिनुहोस