ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार ३:४५ बजे सुरु हुनेछ । क्यानडालाई हराउँदै विजेताको रुपमा सेमिफाइनल खेल्ने अवसर नेपाललाई छ । आजै अर्को खेलमा ओमानले फिलिपिन्ससँग खेल्दैछ ।
यता क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ भने क्यानडा समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्न सक्ने मौका छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।
फिलिपिन्सविरुद्ध कुशल भुर्तेलले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए भने दीपेन्द्रले ८३ रन बनाएका थिए । कुशल र दीपेन्द्रले नेपालबाट टि २० को सर्वाधिक रनको साझेदारी गरेका थिए । नेपालले फिलिपिन्सविरुद्ध जस्तै क्यानडासंगको खेलमा पनि राम्रो अंकको साथ सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ ।
प्रतिक्रिया दिनुहोस