अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगम लिमिटेडले जनाएको छ ।
निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो । नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस