धादिङ २५ माघ
धादिङ जिल्लामा ४१२ जना बालबालिका कुपोषित रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको अनुसार धादिङमा धादिङमा ११ महिनासम्मका बालबालिका १ सय ९७ जना र एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा २ सय ७५ गरी ४१२ जना बालबालिका कुपोषित रहेका छन् ।
वाग्मती प्रदेशभर २६ सय बालबालिका कुपोषित रहेका छन् । प्रदेशका १३ जिल्लामध्ये गम्भीर खाले कुपोषितको संख्या ९ सय ५५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको तथ्यांकमा उल्लेख गरिएको छ । १३ जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा ७०४ र कम रसुवामा ८ बालबालिकामा कुपोषणको समस्या रहेको तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताउनुभयो ।
वाग्मती प्रदेशमा २३ महिनासम्मका एक लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित रहेको उहाँले बताउनुभयो । जसमध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ जना रहेका छन् ।
बालबालिकालाई कुपोषणबाट मुक्त गर्न भन्दै सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ । तर कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन । बालभिटा खपत नभएर म्याद नाघ्दा स्थानीय तहले नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ ।
पोषण तथा एकीकृत बालरोग व्यवस्थापन अन्तर्गतको बालभिटा कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँछन् । बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले ३ पटक बालभिटा वितरण गर्ने गरेको छ । कान्तिपुरबाट ।
प्रतिक्रिया दिनुहोस