धादिङ २४ माघ
धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. १ र २ का हिमपात प्रभावित नागरिकहरुलाई त्रिपाल वितरण गरिएको छ ।
लगातारको हिमपातका कारण प्रभावित भएका उत्तरी धादिङका बस्तिहरुमा नेपाल रेडक्रस सोसाइटी धादिङ र जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा संविधान सभा सदस्य गुरु बुर्लाकोटीको नेतृत्वमा गएको टोलीले त्रिपाल वितरण गरेको हो ।
रुविभ्याली गाउँपालिकाका लब्दुङ, पुरु, ठुलोगाउँ, लिङ्जो , कामीगाउँका २ सय ७५ घरधुरीमा नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।
हिमपातले अत्याधिक चिसो भएका कारण जेष्ठ नागरिक, वालवालिका, सुत्केरी र सुत्केरी अवस्थामा रहेका महिलाहरूलाई घरवाहिर ननिस्की न्यानो कपडा लगाएर थप सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह समेत गरेको छ । देशभरका हिमाली क्षेत्र र उच्च पहाडि क्षेत्रमा हिमपातका कारण चिसो वढेकोले जनजीवन कष्टकर बन्दै गएको छ ।
फोटो श्रोत : नारायण तिमल्सिना
प्रतिक्रिया दिनुहोस