धादिङ २३ माघ
आइ एस ए अवार्ड प्राप्त धादिङ आवासीय माध्यमिक विद्यालयको २५ औँ वार्षिक उत्सव तथा अक्षराराम्भ कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य एवं गणेश हिमाल क्याम्पसका सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने उप–प्रमुख मनराज भण्डारीको विेशष आतिथ्यता रहेको थियो ।
स्वास्थ्य सुरक्षाका माापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष होमनाथ रिजाल, शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ लगायत राजनैतिक दलका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुङ्गानाले धादिङको शैक्षिक जगतमा धादिङ आवासीय माध्यमिक विद्यालयले छुट्टै पहिचान कायम गरेको बताउदै ब्रिटिस काउन्सिलबाट आइ.एस.ए अवार्ड प्राप्त गर्दा नगरपालिकाको मात्र नभइ सिंगो धादिङ जिल्लाको नै शिर उच्च भएको बताउनु भयो ।
नगर उप–प्रमुख भण्डारीले संस्थागत विद्यालयहरुमा धादिङ बोर्डिङको शैक्षिक स्तर अब्बल रहेको बताउदै थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका सञ्चालक एवं पूर्व प्रधानाध्यापक हरि लम्सालले विद्यालय स्थापनादेखि हालसम्मको अबधिमा विद्यालयले गरेका विभिन्न उपलब्धिहरुको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो भने प्रधानाध्यापक ईश्वरी पाण्डेले आगामी कार्ययोजना सहितको शैक्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।
केही दिन अघिमात्र धादिङ आवासीय माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलबाट वर्ष २०२१–२०२४ का लागि आइएसए अवार्ड (इन्टरनेशनल स्कूल अवार्ड) प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस