धादिङ १७ माघ
जिल्ला प्रशासन कार्यालय धादिङले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना प्रकाशन गर्दै भोलि मंगलबारदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागिएको जानकारी दिएको छ ।
कोभिड १९ को नयाँ भेरियन्ट संक्रमणको कारण कार्यालयमा कार्यरत कर्मचारीहरु संक्रमण भई उपचार तथा आईशोलेसनमा रहेका कारण माघ ९ गते आईतबार देखि अत्यावश्यक बाहेकका सेवा स्थगन गरीएको थियो ।
सेवा प्रवाह हुने स्थानिय तह अनुसार धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका लागि आईतबार, गल्छी र गजुरी गाउँपालिकाका लागि सोमबार, नीलकण्ठ नगरपालिका र गंगाजमुना गाउँपालिकाका लागि मंगलबार, त्रिपुरासुन्दरी र बेनिघाट रोराङ गाउँपालिकाका लागि बुधबार, खनियाबार र नेत्रावती डबजोङ गाउँपालिकाका लागि बिहीबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाका लागि शुक्रबार र रुवीभ्याली गाउँपालिकाको हकमा भने कार्यालय खुल्ने सबै बार सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ ।
साथै हाल कोभिड १९ को संक्रमण पुर्ण रुपमा नियन्त्रण भईनसकेको हुँदा सेवा लिन अति आवश्यक परेकोे अवस्थामा मात्र आफनो स्थानिय तहको पालो अनुसार मात्र कार्यालयमा आउन र अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्डको फोटो भएपनि लिएर आउन प्रशासनले सेवाग्राहीलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस