धादिङ ११ माघ
पछिल्लो समय छोराले नै पितृ उद्धार अथवा काजकिरिया गर्नुपर्ने पितृसत्तात्मक परम्परा विस्तारै परिवर्तन हुँदै गएको छ । सन्तानमा छोरा छोरी बराबर हुन् अथवा आफ्नो अभिभावकप्रतिको दायित्व दुबैको बराबरी छ भन्ने मान्यताको विकास हुँदै गएको छ । छोरीले पनि आफ्नो बाबुआमाको काज किरिया गरेर पितृ उद्धार तथा संस्कृतिको जगेर्ना गर्न सक्छन् भन्ने उदाहरण धादिङको ज्वालामूखी गाउँपालिका ७ की सीता पाठकले दिएकी छन् ।
५ दिदी बहिनीमा कान्छी छोरीको रुपमा जन्म लिएकी पाठकले आफ्नो बाबुको स्वर्गारोहणपश्चात दागबत्ती समेत दिएर अहिले हिन्दु परम्परा अनुसारको १३ दिने काज किरियामा बसेकी छन् । बुबा तेज बहादुर पाठकको यही माघ ८ गते निधन भएपछि दाजुभाइ नभए पनि छोरीले बाबु आमाको काज किरिया गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न आफूले बाबुको काज किरिया गरेको पाठक बताउँछिन् ।
पेसाले नेपाल प्रहरीमा रहेकी पाठक आफू जस्तै अरु छोरीहरुलाई पनि उदाहरणीय बनेर छोरा र छोरी दुबै सन्तान बराबरी हुन् भन्ने मान्यताको विकास गर्न अनुरोध समेत गर्छिन् ।
हिन्दु धर्मसंस्कारमा छोराले पितृ उद्धार गर्नुपर्ने मान्यता र अझ बिबाहित छोरीको गोत्र परिवर्तन हुने भएकाले उनीहरुले गरेको काज किरियाले पितृ उद्धार नहुने भन्ने मान्यताले गर्दा छोरी मात्र सन्तान भएका बहूसंख्यक अभिभावकहरुमा अन्यौलता सिर्जना भएको अभिभावकहरु बताउँछन् । यस्तै समाज परिवर्तनका लागि धर्ममा भएका केही पुरातन सोच र संस्कारलाई समाज अनुकुल परिमार्जन गर्दै जानुपर्ने समेत त्यस्ता अभिभावकहरुको आवाज रहेको छ ।
प्रतिक्रिया दिनुहोस