धादिङ ११ माघ
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण गरिएको छ । गाउँपालिकाको रु. ५ लाख लागतमा बनेको उनको अर्धकदको प्रतिमा सङ्घीय सांसद खेम प्रसाद लोहनी, पालिका अध्यक्ष दुगंकुमार शाक्य तथा अनुसन्धाता डा.नवीनवन्धु पहाडीले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
प्रतिमा अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको एतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । वि.सं. १८२५ तिर कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए । तर उनको जन्म कहाँ र कहिले भएको थियो भन्ने अन्योल कायम थियो ।
साहित्यकार तथा अन्नुसन्धाता डा. नवीनबन्धु पहाडीले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा गर्नुभएको अनुसन्धानले उनी धादिङको कटुञ्जेमा जन्मिएको पुष्टि भएको थियो । प्रतिमा अनावरण समारोहमा अनुसन्धाता तथा लेखक राजु भट्ट्, महेन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
पहिलो कवि सुवानन्दको बारे नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा डा नवीनबन्धु पहाडीले गर्नुभएको खोजले सुवानन्दको जन्म कटुञ्जेमा भएको पुष्टि भएपछि सो विषयको भ्रम हट्नुका साथै यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान आवश्यक भएकाले प्रतिमा अनावरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस