गोरखा, २७ पौष
नेकपा(एकीकृत समाजवादी) को आरुघाट गाउँपालिका गोरखा स्तरीय बृहत कार्यकर्ता भेला सोमबार सम्पन्न भएको छ । समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष एवं आरुघाट गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष नारायण ध्वज खड्काको अध्यक्षतामा भएको भेलामा पार्टीका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले एमाले अध्यक्ष केपि ओलीले २ तिहाइको जनमत कुल्चेर आम जनताको आशा भरोसालाई कुठाराघात गर्नुका साथै जन अभिमतको अपमान गरेको बताउनु भयो । केपि ओली कम्युनिस्ट विचार र सिद्धान्तबाट स्खलित भैसकेकाले नेपालमा कम्युनिस्ट पार्टीको अस्तित्व बचाउन एमालेबाट बिद्रोह गरेको बताउदै मन्त्री खतिवडाले एमाले एक्लै चुनाव लडेर १ सिट पनि नजित्ने दाबी गर्नुभयो । केपि ओलीप्रती कटाक्ष गर्दै खतिवडाले ओली राप्रपासग एकता गरेर गणतन्त्रलाई त्याग्दै राजतन्त्र फर्काउने अभियानमा लागेको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज डिलु पन्तको विषेश आतिथ्य रहेको थियो । यस्तै अतिथिहरुमा जिल्ला इन्चार्ज जुध्द विलास भण्डारी, सह(इन्चार्ज सानुमाया बस्नेत, केन्द्रीय सदस्यद्वय इन्दिरा ढुंगाना र रजमदिन मिया, जिल्ला अध्यक्ष यादव बस्नेत, म्याग्दी जिल्ला अध्यक्ष कृष्ण विक लगायत रहनु भएको थियो । नेकपा एकीकृत(समाजवादी)मा आस्था राख्ने कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लोक दोहोरी गायक चिज गुरुङ र गायिका देवी आलेको सास्कृतिक प्रस्तुति समेत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस