ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।
यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो । तर १४ खेलाडीले कप्तान र उपकप्तान हटाउने तथा चार जनालाई २०२२ को ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्रिकेट संघको निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए ।
कारबाहीमा परेका चार जनाले छुट्टै र १० जनाले छुट्टै पत्र लेखेर निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले शनिबार र आइतबार हटाइएका कप्तान ज्ञानेन्द्र मल्लसँग वार्ता गरे, तर सहमति हुन सकेको थिएन ।
मल्लले टी–२० को कप्तान सन्दीप लामिछानेलाई कायम राख्दा एकदिवसीयको कप्तान आफू र उपकप्तान दीपेन्द्र सिंह ऐरी नै हुनुपर्ने, ग्रेडिङ सुधार गर्नुपर्ने अडान राखेका थिए । स्रोतका अनुसार क्रिकेट संघका अध्यक्ष चन्दले सन् २०२१ को ग्रेडिङमा नपरेका रोहितकुमार पौडेल, विक्रम शोब र गुल्सन झालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस