गोरखा १६ पौष
गोरखामा मिनीट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा. ५ ख ६५६६ नम्बरको मिनिट्रक सडकबाट अन्दाजी १०० मिटर तल बुढीगण्डकीमा खस्दा दुई वर्षीय बालिकासहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा चालक समेत रहेका त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङका २३ वर्षीय नीराजन नेपाल, धार्चे गाउँपालिका– ३ उहिया गोरखाकी शरणी गुरुङकी दुई वर्षीया छोरी सपना गुरुङ र पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुष रहेका छन् ।
दुर्घटनामा घाइते बनेका चालकको उपचारका लागि स्थानीय मेडिकल लैजाँदै गर्दा र अन्य दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ३ जना भने घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस