धादिङ १२ पौष
अपाङ्गता भएका नागरिकहरुको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाको सामाजिक लेखा परीक्षण तथा परियोजना सञ्चालित क्षेत्रका परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । सोमबार सिद्धलेक गाउँपालिकामा भएको २ चरणमा आयोजित कार्यक्रमको अध्यक्षता क्रमशः गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा सिद्धलेक गाउँपालिका उपाध्यक्ष कमला शर्मा, गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिना, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा तथा परिलक्षित संस्थाका निर्देशक, कार्यक्रम संयोजक लगायत स्थानीय जनप्रतिनिधि, अपाङ्गता भएका नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवालले परिलक्षित संस्थामार्फत आफ्नो पालिकामा अपाङ्गता भएका नागरिकहरुलाई आर्य आर्जन तथा पुर्नउत्थानका लागि सहयोग पुगेको बताउदै आगामी दिनमो पनि सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।
यस्तै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले परियोजना सन्चालित क्षेत्रमा गरिएका लगानीको अनुगमन गर्दै सबै वडामा परियोजना सन्चालन गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै बस्नेतले अपाङ्गता भएका नागरिकहरुको सशक्तीकरणमा गाउँ पालिकाले विभिन्न योजनाहरु सञ्चालन गरेको र उक्त योजनाहरु कार्यान्वयन गर्नमा परिलक्षित सस्थाको सहकार्यले थप सहजता प्रदान गरेको बताउनु भयो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले पालिकाका विषयगत शाखाहरुको बजेट निर्माण हुँदा अपाङ्गता भएका नागरिकहरुलाई समेत समेट्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका नागरिकहरुलाई तत्काल लाभ हुने भन्दा दीर्घकालिन लाभ प्राप्त हुने आयआर्जनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । यस्तै अपाङ्गता परिचयपत्र वितरण गर्दा वास्तविक अपाङ्गता भएको हो कि होइन किटान गरेर मात्र वितरण गर्नुपर्ने बताएका थिए ।
परिलक्षित संस्थाले धादिङको गल्छी, गजुरी र सिद्धलेक गाउँपालिका तथा नीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका नागरिकहरुलाई समूहगत रुपमा आय आर्जनका क्षेत्रमा सहयोग गर्दै आएको छ भने धादिङ जिल्लाका ८० जना भन्दा अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्ययनको लागि छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस