धादिङ ११ पौष
धादिङमा स्थानीय तहका ऐन कानुन निर्माण प्रकृयामा सरोकारवालाहरुको भूमिका सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत USAID, डेभलपमेन्ट एक्सचेन्ज नेपाल र fhi360 को आयोजनामा भएको नीति संवादमा स्थानीय तहका विधायन समिति सदस्यहरु तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धारणा राख्दै नीलकण्ठ नगरपालिकाका विधायन समिति सदस्य ध्वज बहादुर गुरुङले नगरपालिकाले ऐन तथा कानुन निर्माण गर्दा आम नागरिक तथा सम्बन्धित सरोकारवालाहरुबिच छलफल गर्दै व्यवहारिक कानुन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।
यस्तै संघीयता र स्थानीय तह नयाँ भएकाले कानुन निर्माण गर्दा प्रशस्त त्रुटिहरु देखिएका छन् आगामी दिनमा यसलाई सुधार गर्दै जानुपर्ने अर्का विधायन समिति सदस्य उद्धव प्रसाद रिजालले बताउनु भयो
एन निर्माण गर्दा सरोकारवालाहरुसग छलफल गरेर मात्र सुझावलाई मस्यौदामा स्थान दिएर पुर्णता दिनुपर्ने पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनु भयो ।
जुन विषयको ऐन कानुन निर्माण गर्न लागिएको हो सोही विषयका सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्दै उनीहरको राय अनुसार कानुन पारित गर्नुपर्ने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो ।
गैर सरकारी महासंघ धादिङका इन्द्रमान शाक्यले नागरिकको लागि बनेका कानुनहरुमा नागरिक नै बेखबर देखिएकोले नागरिकहरुको बिचमा अभिमूखीकरण हुन जरुरी रहेको बताउनु भयो । यस्तै शाक्यले स्थानीय तहले राजस्व निर्धारणमा मनपरी गरेकाले नागरिकलाई आर्थिक रुपमा सास्ती भएको समेत बताउनु भयो ।
महिला अधिकारकर्मी भगवती उप्रेतीले लैङ्गिक नीति निर्माणमा स्थानीय तह गम्भिर नबनेको गुनासो गर्नुभयो । यस्तै अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले अधिकाशं स्थानीय तहले जेष्ठ नागरिक तथा अपाङ्गता ऐन निर्माणमा चासो नदिएको बताउनु भयो ।
धादिङ बारका अध्यक्ष कृष्णराज अधिकारीले संविधानले दिएको क्षेत्राधिकारलाई स्थानीय तहले भरपुर प्रयोग गर्न नसकेको बताउदै प्रदेश र सघंसँग नबाझिने गरी कानुन निर्माण गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस