धादिङ ०९ पौष
धादिङमा १२ हजार ८१९ जना मतदाता थपिएका छन् । गत मंसिर १७ देखि पुस ८ गतेसम्म निर्वाचन कार्यालय धादिङले सञ्चालन गरेको मतदाता नामावली संकलनका क्रममा बिहिबार अन्तिम दिन १ हजार ५५७ जनाले नामावलीमा नाम दर्ता गराएसँगै जिल्लामा १२ हजार ८१९ जना मतदाता थपिएको धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट नामावली संकलन भएको थियो। पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन कार्य संचालन भएको थियो ।
पहिलो चरणमा ५ हजार ४०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै दोस्रो चरण अन्तरगत मंसिर २७ देखी पुस ८ गतेसम्म सात वटा स्थानिय तह थाक्रे, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गल्छी, नेत्रावती डबजोङ र खनियाबास गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस