सत्तारूढ गठबन्धनमा भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्दा सरकारको मासिक खर्च ह्वात्तै बढेको छ।
हाल सरकारमा रहेका दलहरूमा भाग पुर्याउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गर्दा मन्त्रीहरूको सेवा सुविधामा प्रदेश सरकारको खर्च ह्वात्तै बढेको हो।
गठबन्धनमा रहेको दलहरूमा भाग पुर्याउन हालै मात्रै मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएका छन्। जसमा ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने ३ वटा मन्त्रालयले पूर्णता पाउनै बाँकी छ।
गठबन्धनमा रहेको दलमा भागबण्डा मिलाउन मन्त्रालय र मन्त्री बढ्दा प्रदेश सरकारको मासिक खर्च करिब १० लाखले बढेको छ। विकास निर्माणको काममा निकै पछाडि रहेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार र उनीहरूको सेवा सुविधामा खर्च गर्न भने अगाडि देखिएको छ।
प्रदेशमा गठबन्धनको सरकार बनिसकेपछि थपिएको ६ वटा मन्त्रालयको मन्त्री र एक राज्यमन्त्रीको सेवा(सुविधामा प्रदेश सरकारले अब मासिक नौ लाख ३४ हजार दुईसय ९० खर्चिेने भएको छ। चालु आर्थिक वर्षको ४ महिनामा कुल बजेटको ८ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको प्रदेश सरकारले थपिएका ७ मन्त्रीको लागि मात्रै मासिक रूपमा नौ लाख ३४ हजार दुईसय ९० रुपैयाँ खर्चिने भएको हो।
source : thahakhaber
प्रतिक्रिया दिनुहोस