धादिङ २० मंसिर
धादिङ जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरी माई न्वागी मेला आज वृहत साँस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
यस जात्रालाई माइ भित्र्याउने जात्राको रुपमा पनि लिने गरिन्छ । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोटको मन्दिरबाट तीन घण्टाको पैदल दूरीमा रहेको सल्यानवेसी स्थित मन्दिरमा ल्याएर त्रिपुरासुन्दरी माईलाई भित्र्याउने जात्रा पुरा भएको हो । छ महिना सल्यानकोटको मन्दिरमा र छ महिना सल्यानवेसीको मन्दिरमा त्रिपुरा सुन्दरी देवीलाई राख्ने गरिन्छ । आफ्नो घरबाट देवीलाई माइतीघरमा भित्र्याईएको हो ।
बाजागाजा र सिन्दुरयात्रा सहित तिन घण्टाको पैदल यात्रा पार गरि देवीलाई आज माइतीघरमा ल्याई स्थापित गरिएको छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।
माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्रका नेताहरु पुष्प विक्रम मल्ल, वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, सह ईन्चार्ज रामबहादुर भण्डारी, प्रदेश सांसद जगत सिंखडा, अध्यक्ष विजय वुर्लाकोटी लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपाललाई छिटो भन्दा छिटो समृद्ध बनाउने आफुहरुको योजना रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस