धादिङ ७ आषाढ
१० वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाद्धारा २०५९ साल आषाढ ७ गते आजैका दिन धादिङको सतिदेवीमा हत्या गरिएका नीलकण्ठ ५,खाल्टे फ्याक्सेका डम्बर श्रेष्ठ (ज्वाला)को शनिबार १७ औँ स्मृति दिवस तथा स्मृति भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन समयमा सोही ठाउँको पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठ तत्कालीन शाशकले जनताप्रति गरेको अन्याय अत्याचारको विरुद्ध आवाज उठाउँदै नयाँ राज्य व्यवस्थाको लागि तत्कालीन नेकपा माओवादीमा लामबद्ध भइ पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्दा गर्दाै सुराकीको आधारमा असार ७ गते डम्बर श्रेष्ठ सहित नुवाकोटका रवी बोगटी र विमल घलेलाई एकै ठाउँमा हत्या गरेको हो ।
स्मृति दिवस तथा स्मृति भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सांसद खेम प्रसाद लोहनी, नेकपा धादिङका नेता राम बहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, नेकपा धादिङका नेता दिपक वि.क, वडा नं. ५ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै सांसद लोहनीले शहिदहरुले देखाएको बाटोलाई सही ढङ्गले पछ्याउने र शहिदहरुले छाडेर गएका अधुरा कामहरुलाई पुरा गर्न निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै उहाँले धादिङबेसी खाल्टे डाडाँगाउँ फोस्रेटार सडक निर्माणकार्य तत्काल सुरु हुने बताउनु भयो । पन्चकन्या माध्यमिक विद्यालयको कक्षा ११÷१२ सञ्चालनको लागि सांसद विकास कोषको रकमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै लोहनीले विद्यालयलाई प्राविधिक विद्यालय निर्माणका लागि पूर्वाधार विकास गर्न समेत अनुरोध गर्नुभयो । फरक प्रसङ्गमा लोहनीले सार्वजनिक पद धारण गरेका नीलकण्ठ नगरपालिकाका प्रमुख व्यक्तिहरुले नै नगरपालिकाको गाडीमा पार्टीको झण्डा हल्लाउँदै जनतालाई भ्रम सिर्जना गर्दै हिडेको सुनिन आएकाले त्यसको परिणाम जनताले देखाइदिने समेत बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले नगरपालिकाको र वडा नं. ५ को सक्रियतामा डम्बर स्मृति भवन निर्माण गर्न सम्भव भएको बताउँदै शहिदहरु देशका गहना हुन्, हाम्रा पथ प्रर्दशक हुन् उहाँहरुको आर्दशलाई पछ्याइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै वडा न. ५ मा एम्बुलेन्स नभएकाले एम्बुलेन्स सञ्चालनको लागि नगरपालिकाबाट विशेष पहल गर्ने समेत बताउनु भयो ।
यस्तै जनयुद्धका जिउँदा शहिद नेकपा नेता राम बहादुर भण्डारीले शहिदको सपना साकार पार्न जस्तोसुकै अवस्थामा पनि नझुक्ने बरु रगत बगाउन तयार हुने बताउँदै हजारौँ शहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।
नीलकण्ठ नगरपालिकाको ५ लाख र ५ नं. वडाको ५ लाख गरी करिब १४ लाख लागतमा डम्बर स्मृति भवनको निर्माण भएको हो । कार्यक्रमकै अवसरमा स्मृति भवन निर्माणका लागि जग्गा दान गर्ने शहिद श्रेष्ठका दिदी भिनाजु छत्रमान श्रेष्ठ र जोगमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यस्तै विद्यार्थीहरुले रमाइलो नृत्य समेत प्रस्तुत गरेका थिए । साविकको खाल्टे गाविसमा ध्रुव ढुङ्गाना, सुष्मा श्रेष्ठ, डम्बर श्रेष्ठ, कल्पना श्रेष्ठ, अनिल अधिकारी, योगेश गुरुङ, रामशरण श्रेष्ठ गरी ८ जनाले जनयुद्धको क्रममा वीरगति प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस