धादिङ १७ मङ्सिर
३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस धादिङमा पनि मनाइएको छ । “हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार” भन्ने मूल नाराका साथ शुक्रबार धादिङमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । अपाङ्ग कल्याण संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका, लक्जम्बर्ग एड र ह्यान्डिक्याप इन्टरनेशनलको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नीलकण्ठ नगर प्रमुख मनराज भण्डारीले अपाङ्ता भएका नागरिकहरुलाई राज्यबाट प्रदान गर्नुपर्ने सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउदै पहेलो कार्ड प्राप्त गरेका अपाङ्ता भएकाहरुलाई पनि प्रोत्साहन भत्ता प्रदान गर्ने तयारी गरेको बताउनु भयो ।
यस्तै अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले अपाङ्गता भएका नागरिकहरुलाई कानुनमा प्रशस्त अधिकारको कुरा गरेता पनि व्यवहारमा प्राप्त हुन नसकेको बताउनु भयो ।
यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होइन उनीहरुलाई अधिकारसम्पन्न बनाउन जरुरी रहेको अपाङ्ग कल्याण संघ धादिङकी कोषाध्यक्ष सीता रिजालको भनाइ थियो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण तिमल्सिना, धादिङ अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष महेन्द्र धमला, पत्रकार महासंघ धादिङका कोषाध्यक्ष सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो । दिवसकै अवसरमा नीलकण्ठ नगरपालिकाले पनि छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस