धादिङ १० मङ्सिर
शनिबार माओवादी केन्द्रले देशैभर पालिका अधिवेशन गर्दै छ । धादिङमा पनि जिल्लाका १३ वटै पालिकाको अधिवशेन तयारी अन्तिम चरणमा पुगेको माओवादीले जानकारी दिएको छ । यसैबिच जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा भने अध्यक्षको आकांक्षी धेरै देखिएका छन् । नीलकण्ठ नगर अध्यक्षका लागि ५ भन्दा बढी नेताले आकांक्षा व्यक्त गरेको बुझिन आएको छ । धादिङबेसीस्थित क्रिक रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको छ ।
जनयुद्ध कालमै पूर्णकालीन भएर माओवादी आन्दोलनमा लागेका विनोदबाबु रिमाल(सरोज) आफूलाई पार्टीले जिम्मेवारी दिएको खण्डमा अध्यक्ष बन्न तयार रहेको बताउँछन् ।
यस्तै जनमुक्ति सेनकबाट माओवादी आन्दोलनमा जोडिएका हालका जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल पनि नगर अध्यक्षको दाबी रहेको बताएका छन् ।
यस्तै अर्का दाबेदार हुन् अमृत तामाङ । खेलकुद क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका तामाङ पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । हाल अखिल नेपाल खेलकुद महासंघ धादिङको इन्चार्ज समेत रहेका तामाङ पार्टी जिल्ला कमिटी सदस्य समेत हुन् ।
यस्तै नगर कमिटी सदस्य बद्रि प्रसाद सुवेदीले पनि आफूले नगर अध्यक्षको दाबी गरेको बताउदै आएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका संयोजक समेत रहेका सुवेदी भन्छन्, “वडा अध्यक्ष पनि अर्को कमरेडलाई जिम्मेवारी दिइयो । ट्रेड युनियनको जिम्मेवारी पनि हस्तान्तरण गर्दै छु, त्यसैले पार्टीले जिम्मेवारी दिएको खण्डमा कुशलतापूर्वक नगर अध्यक्षको भूमिका निर्वाह गर्न सक्दछु । ”
यस्तै हालका जिल्ला कमिटी सदस्य चन्द्र लम्सालले पनि नगर अध्यक्षमा आफ्नो पनि दाबी रहने बताएका छन् ।
हालका नगर कमिटी अध्यक्ष दिपक विश्वकर्माले भने साथीहरुको आकांक्षा स्वभाविक भएता पनि नगर नेतृत्व सर्वसम्मत टुङ्ग्याउने गरी छलफल अगाडि बढेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस