धादिङ ०८ मङ्सिर
नेकपा(माओवादी केन्द्र) धादिङ यतिबेला मङ्सिर ११ गते हुने पालिका अधिवेशनको तयारीमा जुटेको छ । धादिङका १३ वटै पालिकामा भव्य रुपमा पालिका अधिवेशनको तयारी थालिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो ।
मङ्सिर ४ गते जिल्लाका १ सय ४ वटा वडामध्ये ३ वडा बाहेक अरु सबै वडामा सर्वसम्मत वडा नेतृत्व टुङ्ग्याएको माओवादी केन्द्र धादिङले जिल्लाका १३ वटै पालिकाका मुख्य केन्द्रमा भव्य रुपमा पालिका सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष बुर्लाकोटीको भनाइ छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका र धुनिबेसी नगरपालिका लगायत १३ वटै पालिकामा स्थानीय पार्टी नेतृत्वलाई अधिवेशनको तयारीका लागि जिम्मेवारी प्रदान गरिसकिएको र सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पनि माओवादी केन्द्र धादिङ स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रले देशैभर मङ्सिर ४ गते वडा अधिवेशन, मङ्सिर ११ गते पालिका अधिवेशन र मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश अधिवेशन गरेर नयाँ नेतृत्व चुन्दै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस